Monday, June 1, 2015

गजल
सपना मीठो जगाई तिमी कहाँ हरायौ
मनको नगीज आई तिमी कहाँ हरायौ |
थामेर हात दुबै संगसंगै हिंडेथ्यौं
बीचैमा हात छुटाई तिमी कहाँ हरायौ |
थिएँ म पानी तिम्रै रंगमा रंगाइदियौ
परिचय मेरो मेटाई तिमी कहाँ हरायौ |
मागिथ्यौ मेरो मुटु तिम्रो रहर पुर्याएँ
त्यही मुटु चुँडाई तिमी कहाँ हरायौ |
धेरै थिए डाह गर्ने मैले हाँसेको देख्दा
ती सबलाई हँसाई तिमी कहाँ हरायौ |

No comments:

Post a Comment