Monday, June 1, 2015

गीत
आँखाका सपना जलायो एउटै भूलले
खुशीका सब मूना जलायो एउटै भूलले |
नबुझ्न खोजें व्यहोरा बानी
नछामेरै हेरें मन
बिश्वास गर्दै बाहिरीपनमा
बाजी लगाएँ जीवन
मुटुका चाहना जलायो एउटै भूलले |
अब त घातले पनि
तर्सिन्न मेरो छाती
चाहे कुनै दिन प्रलय आई
बज्रिदेऒस ममाथि
जीउने कामना जलायो एउटै भूलले
गीत
छ भने कोही तिमीभित्र बसेको
अरु नै छ ममा भनेर बताऊ
तर खाली भए अझै पनि त्यो मन
यो मनलाई त्यो मनको साथी बनाऊ |
तिम्रो पनि आफ्नै रहर हुन सक्छ
सोचाइको बेग्लै लहर हुन सक्छ
छ भने कोही ती आँखामा अटेको
म खोस्न चाहन्न अरुको त्यो ठाउँ
तर खाली भए अझै तिम्रा आँखा
मतिर पनि एक दृष्टि उठाऊ |
मलाई थाहा छ माया कस्तो हुन्छ
स्वप्ना बोकी आँखा कसो गरी रुन्छ
छ भने कोही तिम्रो स्वप्ना बनेको
म हाँस्दै सहन्छु ममा दुख्ने घाउ
तर खाली भए अझै तिम्रा स्वप्ना
ती स्वप्नाहरुमा मलाई अटाऊ |
गजल
सपना मीठो जगाई तिमी कहाँ हरायौ
मनको नगीज आई तिमी कहाँ हरायौ |
थामेर हात दुबै संगसंगै हिंडेथ्यौं
बीचैमा हात छुटाई तिमी कहाँ हरायौ |
थिएँ म पानी तिम्रै रंगमा रंगाइदियौ
परिचय मेरो मेटाई तिमी कहाँ हरायौ |
मागिथ्यौ मेरो मुटु तिम्रो रहर पुर्याएँ
त्यही मुटु चुँडाई तिमी कहाँ हरायौ |
धेरै थिए डाह गर्ने मैले हाँसेको देख्दा
ती सबलाई हँसाई तिमी कहाँ हरायौ |
नांगै खुट्टा गोरेटोमा यताउती भाग्थिन्
मलाई त उनी अझै सानी जस्ती लाग्थिन् |
मेरो ख्यालै गएन छ लजालु बोलीमा
उमेरसंगै फेरिएको चौबन्दी चोलीमा
दोहोरीमा नाँचेका ती दौंतरीको माझ
भेटें मैले उनीलाई रोधीभित्र आज |
आँखामा गाजले मात ओठमा रातो लाली
मादलुको तालमा मिल्दो पाइला चाली चाली
नाँच्दै थिइन् ढुक्क उनी नमानेर लाज
भेटें मैले उनीलाई रोधीभित्र आज |